मकवानपुरमा चट्याङबाट १ सय १६ जनाले ज्यान गुमाए

हेटौँडा, गत ३१ चैतमा मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए । घाइते हुनेमा स्थानीय मनहरी– ५ का ६२ वर्षीय सिंह बहादुर गोले र १० वर्षीय सौगात गोले रहेका थिए ।

ADVERTISEMENT

यसरी चालू आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एकको मृत्युसमेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यता जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ । साथै दोस्रोमा भूकम्प र तेस्रोमा बाढी तथा पहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता जिल्लामा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ ।

सूचना अधिकारी कँडेलका अनुसार चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सुचीमा रहेको छ । चट्याङ कहाँ कति बेला पर्न सक्छ भन्ने पूर्वानुमान नहुँदा यसको रोकथाममा समस्या रहेको छ । ‘हामीले नागरिकलाई बर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रसारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौ । त्यो बाहेक यसको रोकथाममा अन्य विकल्प छैन ।’ उनले भने ।

ADVERTISEMENT

सूचना अधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्व पश्चिम लोक मार्ग अन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्च जोखिममा रहेको छ । त्यस्तै पूर्व पश्चिम लोक मार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा– १९ नेवारपानी चट्याङको जोमिममा रहेको छ । यता कान्तिलोकपथ सडक खण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत थाहा नगरपालिकाको दामन, सिस्नेरी सडक खण्ड अन्तरगत इन्द्र सरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडक खण्ड उच्च जोखिममा रहेको छ ।

त्यस्तै त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ भैंसे पनि चट्याङको उच्च जोखिममा रहेको छ ।कँडेलका अनुसार भौगोलिक बनावट चट्याङको जोखिम निम्त्याउन सक्ने प्रमुख कारण हो । चट्याङ न्यूनीकरणका लागि ठुला योजना निर्माण नभएता पनि चट्याङबाट प्रभावित पर्न सक्ने भौतिक संरचनाको समयमै व्यवस्थापन, पूर्वाधार निर्माणमा पूर्व योजना, सचेतनामूलक सामग्री प्रसारण लगायतका कार्य जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने गरेको उनले बताए ।

विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्यून हुने ग्रामीण क्षेत्रमा अर्थिङ जडान बिरलै हुने हुँदा उक्त क्षेत्रमा चट्याङको जोखिम उच्च रहने उनी बताउँछन् । जसको प्रत्यक्ष प्रभाव ग्रामीण भेगका बासिन्दा, किसान, ज्याला मजदुरी गर्ने मजदुर र खुल्ला छोडिएका पशु चौपायामा पर्ने गरेको छ ।

मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना घटेका छन् । उक्त घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्ण रूपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ । यो बिचमा २१ लाख ५९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ । स्रोतः गोर्खापत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *