हेटौंडा, विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा एक दिने अभिमूखिकरण तालिम शुक्रबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा एक देखि तीनको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा चारदेखि दशसम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख सानुकाजी लुइँटेलको प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुइँटेलले विज्ञान शिक्षकले समाजको अँध्यारोलाई चिर्न सफल हुने र रुढीवाद हटाउन चेतना बाँड्न सक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए । कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहन प्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको पनि आतिथ्यता रहेको थियो ।
दुई सत्रमा सञ्चालित अभिमूखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय निकायका त्रिसठ्ठी जना शिक्षकले सहभागिता जनाएका थिए भने समापन समारोहमा सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाण पत्र वितरण गरेका थिए । साथै कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक राम कुमार ठाकुरले मन्तव्य राखेका थिए । विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।







