होलीमा भिडभाडको कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा, रंगहरुको पर्व फागुपूर्णिमा (होली) मा भिडभाडको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना जारी गरेको छ । यही १८ र १९ गते परेको होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा रहेकोले भिडभाडको कार्यक्रम नगर्न र गर्नैपरे प्रशासनको अनिवार्य स्वीकृति लिन भनिएको छ ।

यस्तै पर्व मनाउने नाममा कसैलाई इच्छा विपरित जबरजस्ती, अमर्यादित तथा उच्छृङ्खल गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाबासीलाई अनुरोध गरेको छ । चाडपर्वको नाममा मादक तथा नसालु पदार्थको सेवन, सार्वजनिक स्थलमा होहल्ला, चर्को आवाजमा डिजेका कार्यक्रम, आतिसबाजी लगायतका गतिविधि नगर्न प्रशासनको अनुरोध रहेको छ । कसैलाई इच्छाविपरित रंग तथा लोला हान्ने, हैरानी, दुःख, कष्ट दिएमा कारबाही गर्ने प्रशासनको चेतावनी रहेको छ । यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिको समयमा यस वर्षको होली रहेको छ ।

१८ गते पहाडमा र १९ गते तराईमा यस वर्षको होली पर्व मनाइँदैछ । १८ गतेबाट मौन अवधि सुरु हुने भएकोले प्रशासनले होली कार्यक्रममा समेत कडाई गर्ने तयारीमा रहेको छ । होलीको सन्दर्भमा मकवानपुरको विभिन्न स्थानमा भेला भै रमाइलो गर्ने, सांगीतिक कार्यक्रमको आयोजना गर्ने, होली मिलनको आयोजना गर्ने हुँदै आएको थियो ।

Advertisement 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *