हेटौंडा, मकवानपुर जिल्लाबाट वार्षिकरूपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमुलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले रु १७ करोड ३० लाख मूल्यबराबरको निर्यात गरेका छन् । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरबाट रु २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६र७७ मा रु २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो ।
उक्त वर्षमा क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एण्ड एफआई विसी र इभान्स लाइफ साइन्सेस लगायतले आफनो उत्पादन छिमेकी मुलुक भारतमा निर्यात गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा युनिलिभर नेपाल लिमिटेड बाहेकका उद्योगबाट उत्पादन भारत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्यपदार्थसहित औद्यौगिक उत्पादन निर्यात गरेको सङ्घले जनाएको छ ।
गत आर्थिक वर्षमा प्याक्ट ग्रुप, क्लोजर स्टिम इन्टरनेसनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एण्ड एफ आई विसीले त्रिपाल तथ इभान्सलाइफ साइन्सेसले सल्लाको लोठ पाउडर भारत निकासी गरेको थियो । त्यस्तै गुराँस ग्रुप इन्टरनेसनलले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली उत्पादन अष्ट्रेलियामा र एड्भान्स टेक्नोलजी एण्ड मेसिन नेपालले फोहर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको बताइएको छ ।
एक दशक अघि आर्थिक वर्ष २०६८र६९ मा मकवानपुरबाट रु ६९ करोड ८२ लाख मूल्य बराबरको निर्यात भएको थियो । त्यस समयमा २९ वटा उद्योगबाट आर्थिक वर्ष २०६८र६९ मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ भएको थियो । क्रसरजन्य उद्योगको भारत निर्यातले पनि त्यस समयमा निर्यात व्यपार बढेको देखिन्छ । क्रसरका साथै एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इञ्जिनीयरङ कम्पनी, माछापुच्छ्रे र हर्बल लगायतका अन्य उद्योगले निर्यात गर्दै आएको थियो ।
कोलगेट, कोडाक र युनिलिभर लगायतका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगका उत्पादन निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशक अघि आर्थिक वर्ष २०५७र५८ मा रु दुई अर्ब २९ करोड मूल्य बराबरको निर्यात भएको सङ्घद्वारा उपलव्ध तथ्याङ्कमा जनाइएको छ । कोडाक र कोलगेट नेपाल छोडेर गइसकेको छ भने युनिलिभरले भारतमा निर्यात बन्द गरिसकेको बताइएको छ ।
सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नमा ध्यान नदिएकोले त्यस्ता उद्योग सङ्कटमा परेको गुनासो गरे । (स्रोतः रासस)







