बैशाख २२ गते वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन

हेटौँडा, यही बैशाख २२ गते नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलन हुने भएको छ । हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन हुने भएको हो ।

ADVERTISEMENT

बिहीबार पत्रकार सम्मेलन गर्दै वाइसिएल मकवानपुरले जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो । पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ को प्रमुख आतिथ्ययतामा सम्मेलन हुने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिए । उनका अनुसार सम्मेलनले युवाहरूको सवाललाई सशक्त रूपमा उठान गरी पार्टी सङ्गठनको नीतिगत तहमा पुर्याउन भूमिका खेल्नेछ । सम्मेलनले युवा पलायन, युवाहरूको अवसर, चुनौती र समस्याबारे नीतिगत संवादको थालनी गर्ने उनले बताए । युवाहरूलाई आर्थिक सामाजिक, राजनीतिक तथा सुशासनका मुद्दामा सशक्त ढङ्गबाट अघि बढाउने भूमिका खेल्ने उनको भनाई छ ।

उनका अनुसार सम्मेलनमा मकवानपुरका १० स्थानीय तहका ४०० प्रतिनिधिहरू सहभागी हुनेछन् । उक्त सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्ने उनको भनाइ छ । पछिल्लो समय वाइसिएलमा युवाहरूको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको उनले बताए । सम्मेलन आयोजनाका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *