हेटौंडा, हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ । बागमती प्रदेशभित्रका सामुदायिक वन समूहमध्ये उत्कृष्ट हँुदै समूहले एकलाख पुरस्कार प्राप्त गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
बागमती प्रदेश वन निर्देशनालय हेटौडाका सहायक वन अधिकृत गोविन्द अर्यालको अध्यक्षतामा असार २१ गते बसेको बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । वन समूहले वनको विकास, समूहको स्वीकृत विधान तथा कार्ययोजना बमोजिमका कामहरु सम्पन्न गरेको, संस्थागत विकास लगायतका काम पारदर्शी ढंगले सम्पन्न गरेकाले पुरस्कार प्रदान गरेको वन निर्देशनालयले जनाएको छ ।
समयमै साधारणसभा, लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन, आयआर्जन, पर्यापर्यटन, प्रचारप्रसार, आर्थिक प्रतिवेदन लगायतका कामहरु समेत समूहले वयवस्थित किसिमबाट राख्ने गरेको निर्देशनालयले जनाएको छ । यसअघि समूहले सर्वमान्य गणेशमान सिह वन संरक्षण पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्लास्तरीय पुरस्कारहरु प्राप्त गरिसकेको समूहका उपाध्यक्ष केशव धितालले जानकारी दिए ।







