हेटौँडा, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा तीन हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लाका ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित कुल तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिभर परिचालन गरिने बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा निर्वाचन आयोगबाट छ जना कर्मचारी खटाइने छन् भने मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयंसेवक नियुक्त गरिनेछ। उहाँले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
निर्वाचन कार्यालयबाट दुई हजार २४४ जना कर्मचारी र मतदान केन्द्रमै नियुक्त हुने एक हजार १२२ जना स्वयंसेवक निर्वाचन अवधिभर परिचालन हुने उहाँले बताउनुभयो। यसबाहेक, मतदान स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरीसमेत परिचालन गरिनेछ।
४० वटा वडा रहेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन्। त्यस्तै, ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम छन्। यी बाहेक, जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडामा अस्थायी मतदान केन्द्र रहने व्यवस्था गरिएको छ। ती मतदान केन्द्रको संख्या निर्धारण प्रक्रिया भने जारी रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो।
मकवानपुर जिल्लामा कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ रहेको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता कायम छन्।
निर्वाचनका लागि मसी, मतपेटिकालगायत ५२ प्रकारका सामग्री आवश्यक पर्ने जनाउँदै ढकालले केही सामग्री कार्यालयमा आइसकेको र बाँकी सामग्री निर्वाचन आयोगबाट व्यवस्थापन भएर आउने क्रममा रहेको बताउनुभयो।






