हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भोलि शुक्रबारबाट १६ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौंडामा सञ्चालन हुँदैछ । हेटौंडाको पारिजातपथ स्थित कबर्डहलमा दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३ सय १५ जना खेलाडीले सहभागीता जनाउने आयोजकले बताएको छ।

‘प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश हुने भएकोले गर्दा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले भने –‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चोटी विद्युतको माध्यमबाट सिनियर खेल खेलाउँदै छौँ ।’
पुरुष र महिला खेलाडीले विभिन्न विधागत ११ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । दुई वटा रिङमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई मेडल प्रदान गरिने छ । ‘जिल्लास्तरीय प्रतियोगिता आयोजना हुँदा हरेक बच्चाहरुले खेलको अनुभव बट्ल्ने गर्दछन् । यसखेलबाट आमन्त्रीत प्रतियोगिता र राष्ट्रिय खेलको प्रतियोगिताको लागि खेलाडी छनौटको लागि सहयोग पुग्नेछ ।’ उनले भने –‘प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई क्याम्पमा राख्नेछाँै ।’ प्रतियोगितामा १५ जना निर्णायक रहने छन् ।
प्रतियोगिताको लागि करिव २ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले खेलाडीको लागि निःशुल्क खाना र बासको पनि व्यवस्था गरेको छ । गतवर्ष भएको १५ औँ मकवानपुर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम, मकवानपुर डोजाङ द्वितीय र सेकग्नाईज डोजाङ तृतीय भएको थियो ।







