प्रदेश युवा सम्मेलनमा ३ सय बढीको सहभागिता रहने

हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि आयोजना हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबारदेखि मङ्गलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने छ । प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको यो तेस्रो श्रृङ्खला हो । प्रदेश सरकारले यस युवा सम्मेलनलाई आफ्‌नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै वार्षिकरुपमा बजेट समायोजन गरेको छ । फलस्वरुप बितेका दुई आर्थिक वर्षमा १० हजार पाँच सयभन्दा बढी युवाले सिप सिकेका थिए भने सिप सिकेका चार सय पाँच युवा उद्यमशीलतामा जोडिएको प्रदेश युवा परिषद्ले जनाएको छ ।

ADVERTISEMENT

प्रदेश युवा परिषद्ले शनिबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ढाँचा र उद्धेश्यबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंले बागमती सरकारको नीति कार्यक्रम र बजेटमा युवा सीप वर्ष घोषणा गराउन परिषद् सफल भएको उल्लेख गरेका छन् । उपाध्यक्ष चौलागाईंका अनुसार बागमती प्रदेशका हरेक युवा सिपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयकासाथ परिषद्का योजनाहरु अघि बढिरहेका छन् । सीप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवा सम्मेलन कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे ।

‘राजनीतिप्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने नीतिनियमले आफ्‌ना अवसरहरु सिर्जना हुनसक्दछ भन्ने कुरामा कन्भिन्स भएका छन् । सरकार युवाका क्षेत्रमा केकस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्‌ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए ।’ उपाध्यक्ष चौलागाईले भने –‘प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मका रुपमा स्थापित भएको छ । सम्मेलनले युवा र सरकारबीच दुरी घटाइ एकअर्कालाई सामीप्यमा ल्याउने काम गर्दै आएको छ ।’ सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्थानीय सरकार प्रमुखहरु र अन्य उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहने र युवाले नीतिगत विषयमा सुझाव दिने कार्यक्रम राखिएको छ । प्रदेश र स्थानीय तहले बनाउने नीतिमा युवाहरुको सुझावका आधार र युवा परिषद्को सिफारिसमा जिल्ला युवानीति तथा कार्यक्रमहरु परिमार्जन भएको बताइएको छ ।

सम्मेलन केवल युवाको जमघटमात्र नभई, प्रदेश सरकारको नीतिनिर्माण प्रक्रियामा युवाको प्रत्यक्ष संलग्नता सुनिश्चित गर्ने ऐतिहासिक थालनी भएको कार्यकारी उपाध्यक्ष चौलागाईंको भनाइ छ । सम्मेलनमा ‘कृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती’, ‘डिजिटल सुशासन र प्रविधिमा युवा’, ‘शिक्षा सिप र सिर्जना’, ‘दीगो विकासमा जलवायु परिवर्तन र युवा’, ‘युवामा सिपमूलक तालिमको आवश्यकता र प्रभावकारिता’, नीति, नेतृत्व र युवा संलग्नता’ तथा ‘मुख्यमन्त्रीसंगै युवा’ लगायत विषयमा विज्ञहरुसंगै प्यानल छलफल र कार्यशाला हुनेछन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *