क्षतीपूर्ति माग गर्दै दलका प्रमुखलाई ज्ञापन पत्र

हेटौंडा, हेटौंडाका व्यवसायीहरुले २५ मिटर सडक विस्तारमा प्रभावित हुने घरधनी र व्यवसायीहरुलाई क्षतीपूर्तिको माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुक्राएका छन् । शुक्रबार हेटौंडाका व्यवसायीहरुको संघहरुले संयुक्त रुपमा मकवानपुरका प्रमुख राजनीतिक दलका अध्यक्षहरुलाई हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषयमा मुआब्जा र क्षतीपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

व्यवसायीहरुले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भरत पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सागर थापालाई पत्र बुझाएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरी तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल, ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाई, मकवानपुर भाडाँ व्यवसायी संघका महासचिव सञ्जय प्रसाद रौनियार लगायतको उपस्थितीमा दलका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको थियो ।

सडक डिभिजन कार्यालयले ३५ दिने सुचना प्रकाशन गरे सँगै २५ मिटर सडक विस्तार गर्दा १ हजार ८ सय घरधुरी प्रभावित हुने व्यवसायीहरुको भनाई छ । ५ हजार व्यवसायी प्रभावित हुनुको साथै १५ अर्ब बराबरको आर्थिक क्षति हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सडक विस्तार गर्दा उक्त क्षेत्रमा बसोबास गर्दै आएका २५ हजार व्यक्तिहरु आश्रय विहिन हुने, १५ हजार जनाको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था रहेको पत्रमा भनिएको छ । पत्रमा उल्लेख भए अनुसार करिव २ हजार जना व्यवसायीहरु आर्थिक मन्दिको मारका कारण बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा रहेका पत्रमा उल्लेख गरिएको छ ।

मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्यालले सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने÷ वास्तविक लगत लिनुपर्ने माग गरेका छन् । उनले सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्ने माग अघि सारेका छन् । सडक विस्तारबाट प्रभावित क्षेत्रको घरटहरा पुनः निर्माण पश्चात साविक व्यापार गरिरहेका व्यवसायीहरुलाई बिना धरौटी बिना झन्झट उपलब्ध हुने सुनिश्चिता गर्नुपर्ने अर्यालले बताए । आफ्ना मागलाई सम्बोधन हुने गरी कार्यान्वयन नगरेको खण्डमा थप सशक्त रुपमा चरणवद्ध सघर्षका कार्यक्रम घोषणा गरि अघि बढ्ने उनको भनाई छ ।

व्यवसायीहरुले हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई विहीबार नै ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button