हेटौँडा, हेटौँडा–५ मा रहेको ज्ञानदीप शिक्षा निकेतन माविले कक्षा–८, ९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा एवम् शैक्षिक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता एवम् सञ्चालक समिति उपाध्यक्ष राजेश घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
अभिभावक शिक्षा कार्यक्रमको सहजीकरण गर्दै सामाजिक व्यक्तित्व डा. अर्पण पराजुलीले बालबालिकाको चौतर्फी विकासका लागि अभिभावकले बालबालिकालाई नजिकबाट बुझ्नुपर्ने र पर्याप्त समय दिनुपर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा १५ जना अभिभावकहरूले विद्यालयका सबल पक्षबारे प्रशंसा गर्दै अझै राम्रो गर्नका लागि रचनात्मक सुझावहरू दिए ।
विद्यालयको नियमित मासिक अभिभावक अन्तरक्रिया कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८२ को पहिलो तहगत अन्तरक्रिया आयोजना गरिएको र आगामी दिनमा नियमित रूपमा अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै जाने जानकारी विद्यालयका सहायक प्रअ एवम् सूचना अधिकारी दीपक गौतमले जानकारी दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, सदस्यहरू जनकराज पन्त, डा. निमेष निखिल, श्रीराम दाहाल, शिक्षक-अभिभावक सङ्घ (PTA) अध्यक्ष प्रकाश बानियाँ, विव्यस सदस्य रिता घिमिरे, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, विद्यालयका प्रअ ईश्वरप्रसाद लामिछानेलगायत कक्षा ८-१० का विषयशिक्षकहरू तथा करिब २०० जना अभिभावकको उपस्थिति रहेको थियो ।







