१० बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सम्पन्न

हेटौंडा, १० बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलन २०८२ सकिएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजना भएको तीनदिने सम्मेलन मङ्गलबार सकिएको हो । परिषद्द्वारा जारी घोषणापत्र मंगलबार नै युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र मुख्यमन्त्री बहादुरसिंह लामालाई बुझाइएको छ ।

ADVERTISEMENT

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्धारा जारी घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्न आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ ।

‘युवा सीपबर्ष २०८१’का कार्यक्रमलाई आगामी बर्ष समेत निरन्तर रुपमा सञ्चालनको व्यवस्था गर्न समेत माग गरिएको छ । सीपमूलक तालिमसँगै उद्यम सञ्चालन, बजारीकरण, लगानी पहुँच, प्राविधिक परामर्श र अनुगमनलाई जोडेर एकीकृत ढाँचामा सञ्चालन गर्नुपर्ने उपाध्यक्ष चौलागाईंले बताए । सीपमा आधारित स्वरोजगारको लागि अनुदान, सहुलियत ऋण र सहकारी प्रणालीलाई कार्यान्वयन गर्नुपर्ने माग घोषणापत्रमा गरिएको छ । बागमती प्रदेश सरकारले जलवायु संकटलाई सम्बोधन गर्न वातावरण संरक्षण, हरित रोजगारीको सिर्जना र जलवायु न्याय सुनिश्चित गर्ने विषयमा युवाको नेतृत्वमा आधारित कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

युवाले नेतृत्व गरेका ‘ग्रीनइनोभेसन’ र ‘सस्टेनेबल स्टार्टअप’मा लगानी सहज बनाउन सार्वजनिक–निजी साझेदारीको माध्यमबाट पहुँच वृद्धि गर्नुपर्ने माग परिषद्को रहेको छ । कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअपलाई प्रवद्र्धन गर्ने, कृषिमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्ने र कृषि उद्यम गर्न चाहने गरेका विद्यार्थी प्रमाणपत्रको अधारमा कर्जा प्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । युवाहरूको सिर्जनात्मक क्षमतालाई प्रशिक्षण, उपकरण, सञ्जाल र प्रस्तुतीकरणको अवसर मार्फत अभिव्यक्त गर्न सहज वातावरण निर्माण गर्न पनि माग गरिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *