बागमतीमा लाइसेन्सको लिखित परीक्षा अनलाइनबाट, ट्रायल परीक्षा पनि स्वचालित बनाइने

हेटौँडा, बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष २०८३/८४ देखि लाइसेन्सको लिखित परीक्षा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ।

ADVERTISEMENT

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारले यातायात सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित यातायात कार्यालयहरूलाई ‘फेसलेस सेवा प्रणाली’ मा रूपान्तरण गर्ने योजना अघि सारेको हो। यसअन्तर्गत सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराइने जनाइएको छ।

प्रदेश सरकारले लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षालाई समेत स्वचालित प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ। ट्रायल परीक्षामा हुने सम्भावित मिलेमतो, मानवीय हस्तक्षेप तथा अनियमितता न्यूनीकरण गर्न स्वचालित मूल्यांकन प्रणाली लागू गरिने सरकारको विश्वास छ।

त्यसैगरी, बागमती प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) आफैं छपाइ गर्ने योजना पनि अघि सारेको छ। यसबाट लाइसेन्स वितरण प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यातायात क्षेत्रको सुरक्षा र गुणस्तर सुधारका लागि सार्वजनिक यातायातका साधनहरूको दैनिक यान्त्रिक परीक्षण (मेकानिकल चेकिङ) गर्ने व्यवस्था मिलाइने भएको छ। साथै सवारी साधनको प्राविधिक अवस्था परीक्षण तथा प्रमाणिकरणका लागि सवारी परीक्षण केन्द्र (भेहिकल टेस्टिङ सेन्टर) स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *