हेटौँडा, हेटौंडा फुल कन्ट्याक्ट क्योकुशिन करातेका खेलाडीहरूलाई भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुला फूल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन बिदाइ गरिएको छ।
उक्त प्रतियोगितामा सहभागी हुन हेटौंडाबाट ८ जना खेलाडी तथा रेफ्रीहरू गुवाहाटीतर्फ प्रस्थान गर्न लागेका हुन्। मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा हेटौंडा उपमहानगरपालिका–१८ नम्बर वडा कार्यालयको आयोजनामा उनीहरूलाई बिदाइ गरिएको हो।
भारतको गुवाहाटीतर्फ जाने टोलीमा रेफ्रीद्वय सीता श्रेष्ठ र अमृत सुनार रहेका छन् भने खेलाडीहरूमा रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशिप्रसाद बी।के। रहेका छन्।
गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुला फूल कन्ट्याक्ट कराते प्रतियोगिता पुस २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ।
बिदाइ कार्यक्रममा हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, पूर्व अध्यक्ष सानु लामा, क्योकुशिन कराते संघ मकवानपुरका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने, मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ लगायतले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।






