हेटौंडा, हेटौंडामा पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले जित हात पारेको छ।
गत वर्षको च्याम्पियन हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–११ ले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। हेटौंडा–११का तर्फबाट पवन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले समान एक/एक गोल गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका पवन राई ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले नगद २ हजार रुपैयाँसहित शिल्ड प्राप्त गरे।
उद्घाटन समारोह हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेको सभाध्यक्षतामा उद्घाटन गरेका थिए। प्रतियोगिता यही जेठ १३ गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको मेयर कपको विजेताले २ लाख ५० हजार तथा उपविजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले समान जनही नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष विजेता र उपविजेताको पुरस्कार राशीमा समान ५० हजार रुपैयाँ वृद्धि गरिएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा टोलीले सहभागिता जनाएका छन्। खेलको माध्यमबाट खेलाडी र वडाको बीचमा सहकार्यको भावना विकास गराउनुका साथै खेल क्षेत्रको विकासका निम्ति प्रतियोगितालाई निरन्तरता दिँदै आएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले बताए । यस प्रतियोगिताका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।






