थाहाले चुम्यो अन्तर पालिका महिला भलिबलको उपाधि

हेटौँडा, हेटौँडामा भएको अन्तर पालिका महिला भलिबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले चुमेको छ । मङ्गलबार भएको फाइनल खेलमा हेटौँडा उपमहानगरपालिकालाई २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटमा पराजित गर्दै तेस्रो संस्करणको अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले जितेको हो ।

ADVERTISEMENT

सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई २६–२४, २२–२५, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै हेटौँडा फाइनल प्रवेश गरेको हो भने बकैयाँलाई २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्दै थाहा फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेता थाहा नगरपालिकाले ट्रफीसहित नगद एकलाख रुपैयाँ प्राप्त गर्दा उपविजेता हेटौंडाले ८० हजारमै चित्त बुझाउन बाध्य भएको छ । सेमिफाइनल खेलेका भीमफेदी र बकैयाले समान ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाहाकी गंगा गुरुङ घोषित भइन् । यस्तै उत्कृष्ट स्पाइकर हेटौंडाकी नेहा चौधरी, डिफेण्डर हेटौंडाकै आइसा सिं दनुवार, ब्लकर भीमफेदीकी तुलसा चौधरी, सेटर थाहाकी लक्ष्मी बलामी र उत्कृष्ट प्रशिक्षक थाहाकै किरण गिरी घोषित भए । उदयीमान खेलाडी हेटौंडाकी अप्सना उप्रेती भइन् ।

सर्वोत्कृष्ट खेलाडी गुरुङले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्टको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । समापन समारोहमा प्रदेश खेलकुद विकास परिषद् बागमतीका निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख माधव कोइराला, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका निवर्तमान प्रमुख कृष्णप्रसाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *