गृहमन्त्रीले राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

हेटौँडा, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।

ADVERTISEMENT

प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी गम्भीर विषय भएको उल्लेख गर्दै गहिरो छानबिन आवश्यक भएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला गृहमन्त्रीको पदमा रहँदा छानबिनमा बाधा आउन सक्ने भएकाले राजीनामा दिनु उचित हुने उनले बताए।

पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले आफू मन्त्री हुँदा अध्यागमन विभागमा भएका अनियमितता र दलाल सेटिङहरू भत्काएको स्मरण गराउँदै हालको सरकारले भने त्यस्ता गतिविधिलाई संरक्षण गरिरहेको आरोप लगाए। उनले सुशासन नै प्रतिगमनविरुद्धको अचूक अस्त्र भएको बताउँदै वर्तमान सरकारले जनतामा सुशासनको अनुभूति दिन नसकेको धारणा व्यक्त गरे।

श्रेष्ठले संविधानले तोकेको मितिअनुसार सरकारले बजेट ल्याउन पाउने तर लोकतन्त्रको सबल कार्यान्वयनका लागि नेकपा (माओवादी केन्द्र) ले दबाब दिने स्पष्ट पारे।

श्रेष्ठ माओवादी केन्द्रको विस्तारित जिल्ला भेलालाई सम्बोधन गर्न मकवानपुर पुगेका थिए। पत्रकार सम्मेलन प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *