हेटौंडा, गतवर्षझै यसवर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम विहीबारबाट शुरु भएको छ । विहीबार कक्षा ७ सेक्सन ‘ए’ र ‘बी’ मा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रम मार्फत विमोचन गरी आफ्नो सिर्जना अभिभावकमाझ प्रस्तुत गरेका थिए । उनीहरुको फरकफरक समयमा कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पुर्याउने विश्वासका साथ विद्यालयले विगत ६ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा कक्षा ७ सेक्सन ए को कफी हाउस कार्यक्रममा प्रमुख अतिथि रहेका साहित्यकार मसान उपासक तथा सात ख का प्रमुख अतिथि रमेशमोहन अधिकारीले विद्यार्थीले किताबी ज्ञानलाई मात्र नभई सिर्जनात्मक र व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्ने बताए । विद्यार्थीले रचना गरेका सिर्जनाहरु तारिफयोग्य रहेको उनले बताए ।
कक्षा ७ नेपाली विषयका शिक्षिका कल्पना निरौलाका अनुसार विहीबार भएको कफी हाउस कार्यक्रममा करिव ८० जना विद्यार्थीले किताब बिमोचन गरी रचना वाचन गरेका छन् । विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सिपको विकास गराउने मूल उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षिका निरौलाले बताइन् । कफी हाउस कार्यक्रम कक्षा १ देखि कक्षा ९ सम्म हुने गर्दछ ।







