प्रहरी समायोजन हुन नसक्नु दुःखद् : मुख्यमन्त्री


हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुक संघीयतामा गएसंगै प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा सोमबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडोले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश प्रहरी ऐन पनि बनाएपनि काम गर्न नपाएको बताए ।

ADVERTISEMENT

‘संघीयता कार्यान्वयन संगै प्रहरी प्रदेश सरकार मातहत आउनुपर्ने हो तर समायोजन हुन सकेको छैन । प्रदेश सरकार छ तर प्रहरी छैन । सरकार प्रमुख छौं, उसैको प्रहरी छैन’, मुख्यमन्त्री पाण्डेले भने । प्रहरीको उपस्थितिलाई सर्वसाधारणले राज्यको उपथितिको रुपमा लिने गरेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहन प्रहरी कर्मचारीलाई अनुरोध गरे । बागमती प्रदेश प्रहरीको अनुरोध बमोजिम ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ बनाउन सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरिसकेको उनले जानकारी दिए । ‘हामीले भवन बनाउन सहयोग गरेका छौं ।

सहकार्य अझै अघि बढ्नेछ’, पाण्डेले भने, ‘बागमती प्रदेशका एकहजार १२१ वटै वडामा कम्तिमा एकजनालाई विप्द व्यवस्थापन तालिम दिइने कामको लागि पनि बजेट व्यवस्था गरेका छौं ।’ प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी सरकारको मेरुदण्डको रुपमा रहेको बताए । स्थानीय निर्वाचन जस्तै मंसिर ४ को निर्वाचन पनि स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउने गरी भूमिका खेल्न प्रहरी कर्मचारीलाई उनले अनुरोध गरे । कार्यक्रममा उत्कृष्ट प्रदेश प्रहरी प्रमुखबाट बागमती प्रदेश प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्य, उत्कृष्ट प्रदेश प्रहरीबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा र देशभरको उत्कृष्ट जिल्ला ट्राफिकमध्ये मकवानपुरका प्रमुख मुनेन्द्र थापा सम्मानित भएका थिए । कार्यक्रममा प्रहरीलाई सहयोग गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *