बुढीचौरका गृहिणीलाई मौरी पालन तालिम

मकवानपुरगढी , मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरका गृहिणी महिला मौरी पालनसम्बन्धी तालिममा सहभागी बनेका छन् । मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण परियोजना अन्तर्गत नव चेतनशील समाज नेपालको आयोजनामा सञ्चालित एक साताको तालिममा उनीहरु सहभागी बनेका हुन् ।

ADVERTISEMENT

२५ जेठबाट सुरु भएको तालिमको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरे । अध्यक्ष स्याङ्तानले घरधन्दा तथा खेतीपातीका काममा व्यस्त रहने गृहिणीहरुका लागि यस तालिमले उद्यमशील बनाउँन सहयोग पुर्‍याउँने बताए । ‘सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन ।’ अध्यक्ष स्याङ्तानले भने, ‘आफ्नै गाउँघरमा आएको तालिममा सक्रियतापूर्वक सहभागी बनेर आर्थिक आम्दानी बढाउन लागिपर्नुस् ।’ महिलाहरुको क्षमता, सीप विकास गराउँदै उनीहरुलाई स्वरोजगार बनाउँने काममा पालिका लागिपरेको स्याङ्तानको भनाई छ ।

यस तालिमपछि बुढीचौर क्षेत्रको चिनारी मौरी र महका लागि कायम होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । तालिम शुभारम्भमा पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनले आफूहरु विभिन्न सीप मुलक तालिम सञ्चालन गर्दै उद्यमशील तथा स्वरोजगार बनाउने कार्यमा लागिपरेको जानकारी दिइन् । ‘ब्युटिसियन, ब्याग, गलैँचा बुन्नेजस्ता सीपमुलक तालिम सञ्चालन गरी उद्यमशील बनाउन सहयोग गरिरहेका छौँ ।’ उपाध्यक्ष पाख्रीनले भनिन् । उनले आगामी आर्थिक वर्षमा पनि गाउँपालिकाभित्र औपचारिक शिक्षा तथा अवसरबाट पछाडि परेकालाई सहयोग पुग्ने खालका कार्यक्रम ल्याइने जानकारी दिइन् ।

पालिकाको ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाईँ, ८ नम्बर वडाध्यक्ष कुमारसिं घिसिङ, वडा सदस्य गोकुल देवकोटाले बुढीचौरमा सञ्चालन गरिएको मौरीपालन सम्बन्धी तालिम अत्यन्त प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । उनीहरुले व्यवसायिक रुपमै अगाडि बढ्न तालिमले सघाउने भएकाले लाभ लिन यसबाट भरपुर लाभ लिन स्थानीय गृहिणी महिलाहरुलाई आग्रह गरे । यही ३१ गतेसम्म सञ्चालन हुने तालिममा विगत २२ वर्षदेखि मौरी पालन व्यवसायमा संलग्न नेपाल मौरी पालक महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका जनकबाबु तिवारीले सहजीकरण गरिरहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *