‘पत्रकारिताको प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्छ’

हेटौंडा, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सरकारले पत्रकार र पत्रकारीता क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार पत्रकार महासंघ मकवानपुरद्धारा आयोजित फिचर सङ्गालो पुस्तक विमोचन गर्दै अध्यक्ष पोख्रेलले तीनै तहका सरकारले सहकार्य गरेर पत्रकारिता क्षेत्रको विकास तथा प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताए ।

ADVERTISEMENT

अध्यक्ष पोखरेलले वर्तमान समयमा दुःख र पिडाहरु समेटेर समाचार सामग्री निर्माण गर्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘आँशु र पीडाका समाचार लेख्ने दिनको अन्त्य भयो । अब सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्छ । यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमंग दिन्छ । तीन तहको सरकारबाट पत्रकारिताको प्रवद्र्धन, विकास र प्रेरणास्वरुप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा रहनेछ ।’

सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत आफैँ बलियो हुनुपर्ने उनले बताए । पत्रकारहरुको अवस्थालाई शसक्त बनाउन पत्रकार माहासंघले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याएको अध्यक्ष पोखरेलको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरले वार्षिक रुपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका विमोचन गरिएको थियो । फिचर संगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सङ्गालो २२ वटा फिचर समाचारहरु रहेका छन् ।

सो कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिकाले मकवानपुर शाखालाई एक थान प्रोजेक्टर, १०० थान प्रेस ज्याकेट र एक थान प्रिन्टर मेशिन हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *