हेटौंडा, मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविको आइबार सम्पन्न अभिभावक भेलाले माधब गौतमलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको छ । तेस्रो कार्यकालका लागि गौतमलाई अध्यक्ष चयन गरेको हो ।
दुई कार्यकाल विब्यस अध्यक्षको नेतृत्व गर्दा गौतम अभिभावक, विद्यार्थी र शिक्षकका बीचमा लोकप्रिय बनेका थिए । स्रोत साधनको अभावमा पनि विद्यालय ब्यवस्थापन समितिमा रहेर उत्कृष्ठ काम गरेको भन्दै यसअघि बागमती प्रदेश सरकारले गौतमलाई प्रदेशदीप प्रदान गरेको थियो ।
यस अघि भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले पशुपतिनाथ माविको भौतिक र शैक्षिक विकासका लागि आफू सदैब लागिरहने बताएका थिए । विद्यालयको भौतिक प्रगति राम्रो भएको र आगामी दिनमा शैक्षिक उपलब्धी बृद्धि गर्नका लागि सबै पक्षले एकताबद्ध भएर लाग्न आग्रह गरे ।
विद्यालयको पुस्तकालय भवन निर्माण गर्न आफूले बोलेको सहयोग जारी राख्ने बताउँदै प्रमुखअतिथि बानियाँले दुखमा साथ दिन तयार रहेको बताए ।
विब्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकमा सकारात्मक उर्जा रहेको बताए ।
कार्यक्रममा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, पूर्बवडाध्यक्ष ध्रुब खड्का, गाउँ शिक्षा समिति सदस्य ध्रुब सुनार, विब्यस पूर्बअध्यक्षहरु रामहरि ढकाल, चन्द्रबहादुर न्यौपाने, प्रधानाध्यापक भानुभक्त आचार्य, स्थानीय समाजसेबी शंकर न्यौपाने, उद्धब बिष्टलगायतले शुभकामना दिएका थिए ।






