हेटौंडा, १ कार्तिक/गतवर्षझैँ यसवर्ष पनि विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिता कार्तिक ६ गतेबाट शुरु भई कार्तिक ८ गते समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।
‘प्रतियोगितामा सहभागिता जनाउनका निम्ति कार्तिक ४ गतेसम्म टीम दर्ता गरिसक्नु पर्नेछ । दर्ता शुल्क प्रतिष्ठानले तीन हजार रुपैयाँ तोकेको छ।’ अध्यक्ष कार्कीले भने–‘प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।’ प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।
प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । प्रतियोगितामा करिव १५ वटा टीमले सहभागिता जनाउने छन् । पाँचौ पटक आयोजना हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको अनुमानित खर्च ३ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए । प्रतियोगिताको चौथो संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो ।







