हेटौंडा, यही असार ५ गतेबाट हेटौंडामा दोस्रो विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजय यूथ क्लवका अध्यक्ष सुदीप राजबाहकले असार ५ गतेदेखि १५ गतेसम्म हुने गोल्डकप फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहने जानकारी दिएका छन् ।
प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए गरी १६ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेतालाई नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल एफसी विजय यूथ र अग्रसर यूथ क्लवबीच हुनेछ । प्रतियोगिता सञ्चालनको लागि करिव १३ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।






