हेटौँडा, मकवानपुरको थाहा नगरपलिकाले नगर क्षेत्रमा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न भन्दै नगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको हो ।
प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सूचना सार्वजनिक गर्नु भएको हो । ‘यस सूचना विपरीत कार्य गरेको पाइएमा नगरपालिकाले नियमनको दायरामा ल्याउने छ’ सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै प्लाष्टिकका फूलको प्रयोगले वातावरण क्षति हुने, माटोमा नकुहिने, नगल्ने, वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने जनाइएको छ । साथै नगरपालिकाले स्वदेशी तथा स्थानीय प्राकृतिक फूलमालाको प्रयोग गर्नुहुन सूचनामा भनेको छ ।







