हेटौंडा, पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषित भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निर्धारण गरिएका आधारभूत सूचकहरू पूरा गरेसँगै पालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य सचिव कृष्णबहादुर मिजारले गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख रमेश फुयाँल, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार, १५ महिनासम्मका ५८० जना र १६ देखि ५९ महिनासम्मका १,८६४ जना बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरिसकेका छन्। स्वास्थ्य शाखा प्रमुख फुयाँलले सबै बालबालिकालाई आवश्यक सबै खोप दिइसकेको जानकारी दिनुभयो।
पालिकाले हरेक वर्ष माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका बालबालिकामा खोपको सुनिश्चितता कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, वैशाख महिनालाई ‘खोज र खोप’ अभियान अन्तर्गत छुटेका बालबालिकालाई समेट्दै नियमित खोप सेवा प्रवाह गरिने योजना समेत अघि सारिएको छ।
खोप कार्यक्रमको दिगोपनालाई सुनिश्चित गर्न प्रत्येक असार महिनाभित्र गाउँपालिका र वडा कार्यालयले अनुगमन गरी प्रमाणिकरण गर्ने प्रक्रिया पनि नियमित रूपमा अपनाइनेछ। हाल बकैया गाउँपालिका १२ वटा वडामा विभाजित छ, जहाँ प्रत्येक वडामा एक/एकवटा गरी १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार, जिल्लाका सबै १० स्थानीय तहलाई यस आर्थिक वर्षको अन्त्य (असार महिनाभित्र) मा पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। यसअघि हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् भने बागमती, कैलाश र इन्द्रसरोवर गाउँपालिकाहरू पनि यस्तै घोषणाको तयारीमा छन्।






