हेटौंडा,बागमती प्रदेशमा प्रदेशसभाको आउँदो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभा सचिवालयले पत्रकार सम्मेलन गर्दै आम निर्वाचन पश्चात् बस्ने प्रदेशसभा बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । बैठकका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, मर्मत तथा रंगरोगन लगायतका कार्य सम्पन्न भएको उनले बताए । अब सर्वदलीय बैठक बस्न बाँकी रहेको भन्दै सचिव खड्काले सम्भावित कार्यसूची निर्माण, सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापन लगायत काम सकिएको जानकारी दिए । अघिल्लो कार्यकालमा प्रयोग गरिएको पुरानै भवनमा बैठक बस्नेछ । बैठकका लागि पुरानो भवन मर्मत तथा रंगरोगन लगायतको काम गरिएको थियो । ११० जना प्रदेशसभा सदस्य रहने बागमती प्रदेशमा नेपाली कांग्रेसले ३७ सिट, नेकपा एमालेले २७ सिट, नेकपा माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट पाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
प्रदेशसभाको नयाँ भवन बन्न अझै एक बर्ष लाग्नसक्ने अनुमान गरिएको छ । शिक्षा निर्देशनालय रहेको पुरानै भवनलाई मर्मत सम्भार गरिएको छ । अहिलेको भवन छेउमै प्रदेशसभाको हल निर्माण भइरहेपनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने पक्का भएको छ । बागमती प्रदेशसभाबाट ५ वर्षको अवधिमा ३ वटा सरकार बनेपनि कुनै सरकारले प्रदेशसभा भवन बनाउन चासो दिएको पाइएन । तत्कालीन शिक्षा निर्देशनालयको भवनमा डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । २०७९ को वैशाख १ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । हालसम्म करिब ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।







