मनहरीमा पाँच पक्की पुल निर्माण

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न भइसकेका छन् भने बाँकी २ वटा पुल भोलि जेठ ३१ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।

ADVERTISEMENT

बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले मनहरी–३ मा रहेको ठाडोखोला र हाँडीखोला पुलको भोलि उद्घाटन गर्ने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो भने भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी हाँडीखोला पुल निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो ।

तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।

ADVERTISEMENT

सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *