आर्थिक रूपमा कमजोर तथा जटिल रोगले पीडित नागरिकलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले मनहरी गाउँपालिकाले मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।
मनहरी गाउँपालिकाको सोमबार भएको गाउँसभाको १७ औँ अधिवेशन (नीति तथा कार्यक्रम)मा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो जानकारी दिएका हुन् ।
गर्भवती महिलाको आधारभूत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र सतप्रतिशत आमालाई स्वास्थ्य संस्थामा सुत्केरी गराई पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गरिनुका साथै कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपांग भएकाका लागि एम्बुलेन्स सेवामा छुट दिइने भएको छ। मनहरीले सबै वडाको घरघरमा शुद्ध खानेपानी पुर्याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।
पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकिरिया लगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मूलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गरिने भएको छ । पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको उचित मार्गदर्शनका लागि कानुन तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाका जोसुकै व्यक्तिको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्ष उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसको आधारमा मृत्यु संस्कारमा सहयोग पुर्याउन २० हजार रुपैयाँ सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।






