हेटौंडा, हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको अन्तिम चार खेलको टुङ्गो लागेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिका प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा मनहरी गाउँपालिकालाई सडनडेथमा पराजित गर्दै भीमफेदीले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समय ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलेको
थियो । टाइब्रेकरमा पनि ४–४ गोल बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको हो ।
सडनडेथमा भीमफेदीका सुमन लामाले गोल गरे । मनहरीका समन थिङको प्रहार पोष्ट बाहिर गएपछि विजेता बन्दै भीमफेदी सेमिफाइनल प्रवेश गरेको छ । यसैगरी, दोस्रो खेलमा बागमती गाउँपालिकाले साविक विजेता थाहा नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
बागमती गाउँपालिका सेमिफाइन पुगेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाले बकैयाँ गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ भने मकवानपुरगढी गाउँपालिकाले इन्द्रसरोवर गाउँपालिकालाई सडनडेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
फाइनल प्रवेशको लागि भीमफेदीले हेटौंडा उपमहानगरपालिकासँग र मकवानपुरगढीले बागमती गाउँपालिकासँग सामना गर्ने छ । चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा
करिब साढे ९ लाख रुपैयाँ खर्च अनुमान छ ।






