हेटौंडा , भाउजूको हत्या र दाजुको हत्या प्रयास गरेको अभियोगमा मकवानपुर जिल्ला अदालतले एक युवकलाई ३५ वर्ष कैद सजाय सुनाएको छ। साथै, अदालतले मृतकका हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र एक लाख रुपैयाँ जरिवाना भराउने आदेश दिएको छ।
जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलका २२ वर्षीय राहुल दासलाई भाउजू गुडिया दासको हत्या र माहिला दाजु रुपेश दासको हत्या प्रयासको अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो। अदालतले हत्या अभियोगमा २५ वर्ष र हत्या प्रयासमा थप १० वर्ष गरी कुल ३५ वर्ष कैद सजाय सुनाएको हो।
अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार पीडित पक्षलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने आदेशसँगै घाइते दाजुको उपचार खर्चसमेत अभियुक्तले व्यहोर्नुपर्ने फैसला गरिएको छ। हाल दोषी राहुल दास भीमफेदी कारागारमा रहेका छन्।
घटना गत चैत १२ गते भएको हो। लागुऔषध प्रयोगकर्ता रहेका राहुललाई भाउजू गुडिया दासले पटक–पटक सम्झाइबुझाइ गर्दै आएकी थिइन्। सोही विषयमा विवाद चर्किएपछि रातको समयमा कोठामा सुतिरहेकी गुडियामाथि खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई सिरकले छोपेर लुकाइएको थियो।
हत्या पश्चात राहुलले माहिला दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। परिवारमा तीन दाजुभाइमध्ये जेठा रोशन दास रोजगारीका लागि पाँच महिना अघि कतार गएका थिए। मृतक गुडिया तीन सन्तानकी आमा हुन्।
प्रहरी अनुसन्धान अनुसार राहुललाई लागुऔषध सेवन नगर्न परिवारको निरन्तर दबाब थियो। सोही तनाव र रिसको झोकमा उनले आपराधिक घटना घटाएको प्रारम्भिक बयानमा खुलेको थियो।






