हेटौँडा, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुरको हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक अधिकृत र एक बिचौलियालाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।
आयोगका अनुसार सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग भइरहेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उक्त प्रकरणमा यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाललाई समेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आज हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरू दुवै जनालाई तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।






