हेटौँडा, मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनीमा खुर्पा प्रहारबाट एकजनाको हत्या भएको छ ।बेतिनी स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीले खुर्पा प्रहार गरी सोही ठाउँका ५७ वर्षीय रामबहादुर वाइबाको हत्या गरेका हुन् ।
आज बिहान बिहान ५ बजेको समयमा स्वास्थ्यचौकीका कार्यालय सहयोगी बारा निजगढ नगरपालिका ३ सिंगोलका ३५ वर्षीय कुमार थापाले धारिलो हतियार खुर्पाले प्रहार गरी वाइबालाई गम्भीर घाइते बनाएका थिए । खुर्पा प्रहार गर्ने व्यक्तिले नजिक कोही आए मार्छु भनी सोही स्थानमा बसेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी पुगी उनलाई नियन्त्रणमा लिएको थियो ।
घाइतेको घाँटीमा गम्भीर चोट रहेकोमा उपचार गर्न बेतिनी स्वास्थ्य चौकीमा ल्याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्लथलमा प्रहरी निरीक्षक पावल सिंह लामाको टोली पुगी थप अनुसन्धान भइरहेको जनाइएको छ ।







