जीएस निकेतनलाई जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि

हेटौँडा, नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल, शारदा माध्यमिक विद्यालय आमभन्ज्याङ्गको व्यवस्थापनमा भएको जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतन विद्यालयले हात पारेको छ ।

ADVERTISEMENT

आज भएको फाइनल खेलमा आयोजक शारदा माध्यमिक विद्यालयलाई ३–१ को सेटमा पराजित गर्दै जीएसले उपाधि जितेको हो । जीएसले प्रजा जागृति मावि, राक्सिराङ्गलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने आयोजक शारदाले थाहा नगरपालिकास्थित सुन्दरीदेवी माविलाई हराउँदै फाइनल सुनिश्चित गरेको थियो। प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र उपविजेता टिम आयोजकले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मडेल र प्रमाणपत्र प्रदान गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ मा रहेको शारदा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको हो।

स्वर्ण महोत्सवअन्तर्गत आयोजित विविध कार्यक्रमको आज समापन गरिएको विद्यालयले जनाएको छ। समापन समारोहमा विद्यालय स्थापना कालदेखि हालसम्म महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। विद्यालयबाट अध्ययन गरी डाक्टरको उपाधि हासिल गर्ने डा। कृष्ण धिताल, डा। स्यामबहादुर छत्कुली र डा। सुमार्गि हुमागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विभिन्न क्षेत्रमा क्रियाशील पूर्व विद्यार्थीहरू, देउसी–भैलो तथा अन्य अवसरमा विद्यालयलाई नगद तथा जिन्सी सहयोग गर्ने अभिभावक र पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। स्वर्ण महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना प्राप्त विजयीहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कुमारी मुक्तान प्रमुख अतिथि रहेकी थिइन्।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानलगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक इन्द्र बहादुर कार्कीले विद्यालयको विगतदेखि वर्तमानसम्मको अवस्था तथा योगदानबारे जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयको इतिहास झल्कने बृत्तचित्र प्रदर्शन तथा विद्यालयले तयार पारेको स्मारिकाको विमोचन पनि गरिएको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *