हेटौंडा, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तनका असरहरू सबैको जीवनमा प्रत्यक्ष देखिन थालेको भन्दै वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
सोमबार हेटौंडामा सञ्चारकर्मीहरूका लागि आयोजित ‘जलवायु परिवर्तन र यसको असर’ सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा मन्त्री सिल्वालले पहिले सामान्य लाग्ने गर्मी अहिले सहन गाह्रो हुँदै गएको भन्दै जलवायु परिवर्तनका असरहरू हामीले दैनिक जीवनमै महसुस गर्न थालेको बताए । उनले मौसम चक्र अस्तव्यस्त हुँदै गएको र कहिले सुख्खा त कहिले बाढी आउने अवस्था जलवायु परिवर्तनका लक्षण भएको बताए।
“वर्षा हुने समयमा नहुने, नहुने समयमा डुबाउने—यो सबै मौसमको असन्तुलन हो,” उनले भने, “तर समाधान पनि छ। हामीले वन जोगाउनुपर्छ, हरियाली फर्काउनुपर्छ, विद्युतीय सवारी चढ्नुपर्छ र कम इन्धन प्रयोग गर्ने बानी बसाल्नुपर्छ।”
कार्यक्रममा मन्त्रालयका सचिव केदार बरालले नेपाल र बागमती प्रदेशले जलवायु परिवर्तन न्यूनीकरणका लागि गरेका नीतिगत प्रयासबारे जानकारी गराए। उनले गाउँगाउँमा जलवायु सचेतना फैलाउने काम भइरहेको पनि बताए। मन्त्रालयकी वन अधिकृत राधिका शर्माले बागमती प्रदेशमा जलवायुजन्य प्रकोप, जोखिम र चुनौतीको बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले जलवायु परिवर्तनबारे सञ्चारकर्मीहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिए।






