हेटौँडा, नेपाली कांग्रेसका नेताहरूले मकवानपुरको समग्र विकास, स्थायित्व र समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा विजयी बनाउन आह्वान गरेका छन्। निर्वाचन लक्षित कार्यकर्ता भेटघाट अभियानअन्तर्गत मकवानपुरको भैंसेमा आयोजित कार्यक्रममा नेताहरूले विकासका लागि कांग्रेस अपरिहार्य रहेको धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले नेपाली कांग्रेस समावेशी र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो। उहाँले सबै जाति, धर्म र समुदायको समान सम्मान गर्दै युवालाई नेतृत्वमा अघि सारिएको उल्लेख गर्दै गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि बढाइएको बताउनुभयो।
यस्तै, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले मुलुकको नेतृत्व अब युवा पुस्ताको काँधमा आएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय स्तरमा समेत स्वीकार्य युवा नेता गगन थापाको नेतृत्वमा देशले तीव्र विकासको गति लिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा दाहालले मकवानपुरको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको विकासका लागि कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन कार्यकर्ताहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, जिल्ला सचिव ईश्वर पाठक, जिल्ला कार्यसमिति मकवानपुरका अनुशासन समिति संयोजक प्रभात दाहाल, भिमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि निलम देवकोटा, निर्वाचन परिचालन मूल समारोह समितिका सदस्य यतिराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस वडा नम्बर ५ का सभापति अंकित पुडासैनीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेकपा एमालेसहित विभिन्न दल परित्याग गरी ११ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।







