हेटौंडा, बजेटसम्बन्धी विवाद समाधानका लागि सत्ता र विपक्षी दलबीच आठ बुँदे सहमति जुटेसँगै बागमती प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि सारिएको छ। बिहीबार साँझ ६:४५ बजे सुरु भएको बैठक केही समयमै स्थगित गरिएको हो।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामाले धारणा राख्दै बजेट र व्यवस्थाप्रति आफ्नो अडान सार्वजनिक गरेका थिए। नेता जम्कट्टेलले सरकारले अस्वाभाविक ढंगले बजेटमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस्ता गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाएको बताए। उनले बजेटमा देखिएको त्रुटि सच्याउन सरकारलाई आग्रह गरे।
मुख्यमन्त्री लामाले विपक्षी दलहरूको सुझावलाई ग्रहण गर्दै सरकारले कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले संविधान र लोकतान्त्रिक प्रक्रियाप्रति सबै दल एकजुट हुन आवश्यक रहेको उल्लेख गरे।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको मध्यकालीन खर्च सम्बन्धी प्रस्ताव संसद्मा पेस गरेका थिए। त्यसपछि सभामुख भुवनकुमार पाठकले निर्धारित कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए।
बिहीबारको बैठकमा कर तथा राजस्व सम्बन्धी प्रस्ताव र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल गर्ने तयारी थियो। तर दलहरूबीच ८ बुँदे सहमति भएपछि छलफल शुक्रवारका लागि सारिएको हो।






