हेटौँडा, हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना गरिने भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल सोही विद्यालय तोकिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार विद्यालयका दुई वटा ब्लकमा मतगणना गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना विद्यालयको ‘ए’ ब्लक (उत्तर तर्फको भवन) मा गरिनेछ भने क्षेत्र नम्बर २ को मतगणना ‘बी’ ब्लकमा सञ्चालन गरिनेछ। सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ।
मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन गणना स्थलमा सुरक्षा तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। अन्तरजिल्ला सडक प्रयोग गरी केही मतदान केन्द्रका मतपेटिका ल्याइने भएकाले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायसँग समन्वय गरिएको छ।
जिल्लाभर तोकिएका ३७४ मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी गणना स्थलमा ल्याइने व्यवस्था मिलाइएको छ। मतगणना प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






