हेटौंडा, सातौं शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएसँगै आयोजकले प्रतियोगिताबाट ८ लाखभन्दा बढी नाफा भएको जनाएको छ। शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिता सम्पन्न भएको दुई महिनापछि आयव्यय विवरण सार्वजनिक गर्दै कुल ८ लाख ३५ हजार रुपैयाँ नाफा भएको जानकारी गराएको हो।
संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिताबाट ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी र ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। २०७९ साल वैशाख १९ देखि २५ गतेसम्म हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा सम्पन्न भएको थियो। साथै, बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका निकायले पनि विशेष सहयोग गरेका थिए।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, महासचिव छविलाल सुवेदी, महिला गोल्डकप संयोजक प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो। यसअघि छैटौं संस्करणसम्म पुरुष गोल्डकप आयोजना गर्दै आएको जिल्ला फुटबल संघले प्रतियोगिता घाटामा गएपछि सातौं संस्करणदेखि महिला गोल्डकप आयोजना गर्न थालेको हो।







