हेटौंडा, नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी अस्पतालबीच भएको सम्झौतापछि मकवानपुरमा आवद्ध पत्रकारले निःशुल्क उपचार सुविधा पाउने भएका छन्।
तीन वर्षका लागि भएको सम्झौताअनुसार महासंघका सदस्य तथा सदस्यता लिन प्रक्रिया अघि बढाइरहेका सक्रिय पत्रकारलाई अस्पतालले सम्पूर्ण ओपिडी सेवा, शल्यक्रिया, भर्ना उपचार, ल्याब, रेडियोलोजी लगायत परीक्षण निःशुल्क उपलब्ध गराउनेछ। साथै अस्पतालले प्रदान गर्ने औषधिमा १० प्रतिशत छुट दिइनेछ।
सम्झौतामा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालले हस्ताक्षर गरेका छन्। सेवा लिन पत्रकारले महासंघको सदस्यता प्रमाणपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौतासँगै आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर अध्यक्ष बालकृष्ण शर्मा अधिकारी, सहकारी अस्पतालका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।






