हेटौँडा, “हामी काममा विश्वास गर्छौं” भन्ने नारालाई व्यवहारमा उतार्दै हेटौँडा उपमहानगरपालिका–४ ले आर्थिक वर्ष २०८१/८२ मा भौतिक विकास, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवाको क्षमता अभिवृद्धि र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
वडा अध्यक्ष नवीन सिग्देलको नेतृत्वमा संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य, साथै वडाको आफ्नै पहल र बजेटमार्फत थुप्रै योजना सफलतापूर्वक कार्यान्वयनमा आएका छन्। चालु आर्थिक वर्षमा वडामा ३२ वटा भौतिक योजना सम्पन्न भएका छन्। बुद्धपथ, रजत जयन्ती सडक, हुप्र पूर्वी क्षेत्र, गर्दोही भित्री सडक, गिरी टोल, नगरविकास क्षेत्रलगायत स्थानहरूमा सडक कालोपत्रे, स्तरीकरण, ढल निकास र सडक पेटी निर्माणजस्ता कार्य सम्पन्न गरिएका छन्।
श्रमिक माविको नयाँ भवन, आधुनिक माविमा पर्खाल र क्यान्टिन निर्माण, श्रमिक पार्क तथा बालउद्यानको स्तरीकरण, नगरविकास क्षेत्रमा टाइल र मार्किङ, र भुटनदेवी माविको प्रांगणमा निर्माण गरिएको घरेलु उत्पादन बिक्री तथा प्रदर्शनी भवन यस वर्षका प्रमुख उपलब्धिहरू हुन्।
सामाजिक र जनसरोकारका क्षेत्रमा पनि वडाले सक्रिय उपस्थिति देखाएको छ। डेङ्गु रोगविरुद्ध सचेतना कार्यक्रम, निःशुल्क मुटु तथा आँखाको शिविर, लागू औषधविरुद्ध अभियान, साइबर क्राइमसम्बन्धी तालिम, महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रम, धूप बनाउने सीपमूलक तालिम, जेष्ठ नागरिकको धार्मिक भ्रमणलगायतका कार्यक्रमहरू वडावासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरिएका छन्।
शैक्षिक क्षेत्रमा वडाले एक महिनासम्म सञ्चालन गरिएको बृहत् वडा स्तरीय खेलकुद महोत्सव आयोजना गरेको छ, जसमा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ भने छात्रवृत्ति कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। बालमैत्री वडा घोषणा, पाठ्यक्रम प्रविधीकरण, शैक्षिक अन्तरक्रिया, बुटवल र चित्लाङमा शैक्षिक भ्रमणजस्ता कार्यक्रमहरू पनि प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
वडाले कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा पनि विशेष ध्यान दिएको छ। गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम, नवसर्जक महोत्सव, गजल र मुक्तक प्रतियोगिता, तथा गायक जीवन शर्मा र बद्रि पंगेनीजस्ता कलाकारहरूको प्रस्तुति आयोजनाले स्थानीय प्रतिभा र साङ्गीतिक चेतनालाई थप उत्साहित बनाएको छ।
वडा अध्यक्ष नवीन सिग्देलले वर्षभरि भएका यी गतिविधिहरूमा सहयोग गर्ने सबै सरकारी निकाय, संघसंस्था, विद्यालय, समुदाय, कर्मचारी र वडावासीप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा वडालाई अझ पारदर्शी, सहभागी र जनमुखी बनाउँदै समावेशी र आत्मनिर्भर मोडलमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष सिग्देलले जनाएका छन्।
“विकास भनेको केवल संरचना निर्माण होइन, जनताको जीवनशैलीमा सुधार ल्याउने माध्यम हो,” अध्यक्ष सिग्देलले भने, “हामी हेटौँडा–४ लाई समावेशी, आत्मनिर्भर र उदाहरणीय वडा बनाउन अझै तत्पर छौं।”






