हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको परिसरमा बागमती प्रदेश सरकारको लगानीमा निर्मित बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले भवन उद्घाटन गर्दै प्रदर्शनी भवन सञ्चालनमा आएसँगै घरेलु तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त भवन बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडाको संयोजनमा निर्माण गरिएको हो। निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी भुटनदेवी माविलाई हस्तान्तरण गरिएको छ।
२०७८ साल असोज ७ गते ठेक्का सम्झौता गरिएको उक्त भवनको प्रारम्भिक लागत मूल्य अभिवृद्धि करसहित ५ करोड ८२ लाख ४९ हजार ९९६ रुपैयाँ तोकिएको थियो। तर निर्माण अवधिमा लागत समायोजन ९भेरियसन० भई कुल लागत ६ करोड १९ लाख ३ हजार ८०३ रुपैयाँ पुगेको र सोहीअनुसार निर्माण कम्पनीलाई भुक्तानी गरिएको कार्यक्रमका वक्ताहरूले जानकारी दिएका थिए।
उद्घाटन कार्यक्रममा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पुष्कर चन्द्र घिमिरेको अध्यक्षता रहेको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ लगायतको उपस्थिति थियो। वडाध्यक्ष सिग्देलले भवनको प्रभावकारी सञ्चालनका लागि कार्यविधि तयार पारिने र नियमित रूपमा उपयोगमा ल्याइने जानकारी दिनुभयो। उक्त निर्देशनालयका अधिकृत रमेश पौडेलले प्रदर्शनी भवनमा बागमती प्रदेशका १३ वटै जिल्लाका मौलिक तथा पहिचानयुक्त प्रमुख उत्पादनहरू प्रदर्शन गरिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।







