बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका लामा आइतबार साँझ औपचारिक पत्रकार सम्मेलनमार्फत पदत्यागको घोषणा गरेका हुन्।
लामाले २०८१ साउन ९ गते मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए।

ADVERTISEMENT

उनले एक वर्ष नौ दिनसम्म सरकारको नेतृत्व गरे। पत्रकार सम्मेलनमा बोल्दै लामाले आफ्नो कार्यकालमा इमानदारीपूर्वक काम गरेको दाबी गरे। उनले भने,’मैले पार्टी र जनताको हितमा इमानदार प्रयास गरेँ, तर आफ्नै दलभित्रको षड्यन्त्रका कारण सरकार छोड्नुपर्‍यो।’

उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको स्पष्ट गरे। बागमती प्रदेशको नेतृत्व गर्ने नेपाली कांग्रेसका पहिलो तामाङ समुदायका मुख्यमन्त्री रहेका लामाले लोकतन्त्र र गणतन्त्रमाथि खतरा उत्पन्न हुने किसिमको गतिविधि भइहेको भन्दै चिन्ता व्यक्त गरे। ‘म यो घटनाक्रमबाट भाग्ने छैन, तर गम्भीर चेतावनी दिन चाहन्छु—यी गतिविधिले लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा गरेको छ,’ उनले भने। राजीनामा घोषणा कार्यक्रममा उनले आफ्नो कार्यकालभित्र भएका योजनाहरू, विकास प्रयासहरू र सरकारको उपलब्धिहरूसमेत सार्वजनिक गरेका थिए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *