हेटौंडा/मकवानपुर जिल्लामा सहकारीबाट दूध विक्रि गरी एक वर्षमा ८४ करोड रुपैयाँ शहरको पुँजी गाउँ भित्र्न सफल भएको छ। गत आर्थिक वर्षमा दूध विक्रि गरी मकवानपुरमा ८४ करोड ९७ लाख १८ हजार ९० रुपैयाँ शहरको पुँजी गाउँ भित्र्नि सफल भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २९ औँ वार्षिक प्रतिवेदन अनुसार संघ चिस्यान केन्द्र चौकिटोलमा ९ लाख ७१ हजार लिटर, संस्थाबाट सिधै उद्योग गएको १ करोड २८ लाख ७३ हजार लिटर दूध खरिद भएको छ । आर्थिक वर्ष २०७७/२०७८ को तुलनामा गत आर्थिक वर्षमा १७ लाख ४२ हजार ९४७ लिटर दूध खरिद भएको संघको प्रतिवेदनमा उल्लेख छ ।
संघबाट प्राप्त विभिन्न उद्योगलाई ५ लाख ८३ हजार ८ सय १६ लिटर दुध विक्रि गरी ३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । यसैगरी संस्थाबाट सिधै उद्योग १ करोड २८ लाख ७३ हजार ३ सय २५ लिटर दुध विक्रिबाट ७८ करोड ८२ लाख ७९ हजार रुपैयाँ, स्थानीयलाई दुध ३ लाख ८८ हजार २ सय ३७ लिटर विक्रीबाट २ करोड ८३ लाख ८ हजार ८ सय ७८ रुपैयाँ आर्जन गरेको छ । ५३ वटा प्रारम्भिक दुग्ध संस्था आवद्ध रहेको संघको खुद नाफा बचत १७ लाख ७ हजार रुपैयाँ रहेको छ ।
मकवानपुरमा दुग्ध चिस्यान केन्द्र ४० वटा, मिल्कएनालाईजर संचालित संस्थाहरु ४३ वटा रहेको छ भने दुग्ध भण्डारण क्षेमता ७० हजार लिटर रहेको संघका व्यवस्थापक कुमारमणि दहालले जानकारी दिए । मकवानपुर हाल दैनिक दुग्ध संकलन ३६ हजार लिटर रहेको छ ।