शिखरकोटमा जन्माष्टमी जात्रा: घैटो फुटाउने र सांस्कृतिक रमझम

हेटौँडा, उत्तरी मकवानपुरमा ऐतिहासिक तथा धार्मिक महत्त्वको शिखरकोट बजार फेरि एकपटक जन्माष्टमीको रंगमा रंगिन लागेको छ। लगातार २८ वर्षदेखि ‘घैटो फुटाउने जात्रा’का रूपमा चर्चित यो पर्व पछिल्ला वर्षहरूमा युवाहरूको जोश र नयाँ कार्यक्रमका कारण झन् रोचक बन्दै गएको छ।

ADVERTISEMENT

यस वर्षको जात्रा भव्य बनाउन सडकदेखि सुरक्षा व्यवस्था, सांस्कृतिक कार्यक्रमदेखि व्यापारिक मेलासम्म सबैतिर विशेष तयारी गरिएको छ। त्रिभुवन राजपथमै हुने यो जात्रामा सडक अवरोध नहुने गरी संरचना यथास्थानमै निर्माण गरिनेछ भने यातायात सहज बनाउन वैकल्पिक मार्गको व्यवस्था मिलाइएको संयोजक यादवजंग रायमाझीले जनाए। घैटो फुटाउने दिन हेटौंडाबाट आउने सवारीलाई तीन घण्टाका लागि भित्री मार्ग हुँदै बसपार्क–थानाबजारतर्फ जान अनुरोध गरिएको छ।

कृष्ण मन्दिर ओरालोको थाहा गेट र वडा कार्यालयको आँगनमा खाने महोत्सव हुनेछ। हल अगाडि विशेष स्टेजमा ‘लिटिल राधाकृष्ण’ प्रतियोगिता र स्थानीय झाँकी प्रदर्शन देख्न पाइनेछ। सडक किनार र फल्चामा बालबालिकाका खेल स्टल तथा मुख्य सडकको फराकिलो भागमा व्यापारिक स्टल राखिनेछ। पार्किङ सुविधा शंकर होटलदेखि माथि र सार्वजनिक शौचालयको तलतिर उपलब्ध हुनेछ। सुरक्षामा करिब ३ सय स्वयंसेवक खटाइने छन्, जसमा दामन चेली समाज, नगर प्रहरी, इलाका प्रहरी, सशस्त्र प्रहरी र निजी सुरक्षाकर्मी समावेश हुनेछन्। टोल विकास संस्था र युवा क्लबहरूको सहकार्य पनि रहनेछ।

घैटो फुटाउने प्रतियोगिता भने सधैंझैँ मुख्य आकर्षण हुनेछ। यस वर्ष निर्धारित समयमा दर्ता भएका समूह मात्र खेल्न पाउनेछन्। खेलमा सहभागीको सुरक्षाका लागि भुइँमा म्याट ओछ्याउने र घैटोमा नेट राख्ने व्यवस्था गरिनेछ।
आयोजक समितिले जात्रालाई धार्मिक आस्था र सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा सम्मानपूर्वक मनाउन सबैलाई आग्रह गरेको छ। भीड व्यवस्थापनमा सहयोग गर्न, यातायात नियम पालना गर्न र मेलास्थल स्वच्छ राख्न समेत अनुरोध गरिएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *