हेटौंडा, हेटौंडामा जारी दोस्रो स्वर्गीय निरज स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा जीएस निकेतन विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदन विद्यालय विजयी भएको छ ।
बुधबार भएको खेलमा कमाने एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जीएस निकेतनले विजयी शुरूवात भएको छ । शुरुमा ब्याटिङ गर्न मैदानमा उत्रेको कमाने एकेडेमी १५ ओभरमा ५ विकेटको नोक्सानीमा ८६ रन बनायो । कमानेका जोयल गुरुङलेले ३० रन, श्रीजन थापाले ११ रन र निरज देवानले १३ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन । कमानेलाई सस्तैमा समेट्नको लागि जीएस निकेतनका अनिश यादव र प्रियान्सु यादवले समान २ विकेट लिए ।
८७ रनको लक्ष्य पाएको जीएस निकेतनले १३ दशमलव ३ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । जिएसका प्रियान्सु यादवले ४७ रन, जिवन श्रेष्ठले ११ रन बनाए । कमानेको तर्फबाट उत्सव सापकोटा र सुमन सापकोटाले समान १ विकेट लिए । प्रतियोगितामा जीएसका प्रियान्सु यादव म्यान अफ द म्याच घोषित भए । यसैगरी बुधबार भएको दोस्रो खेलमा भुटनदेवी माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा एकेडेमीलाई ८ विकेटले पराजित गर्दै भुटनदेवी विजयी भएको हो । भुटनदेवीका नरेन्द्र अधिकारी म्यान अफ द म्याच घोषित भए ।
यसैगरी बुधबार भएको तेस्रो खेलमा सिद्धार्थ शिशु सदन विद्यालय विजयी भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयलाई ७ विकेटले पराजित गर्दै सिद्धार्थ विजयी भएको हो । बालजागृतिको ४ विकेट लिन सफल भएका सिद्धार्थका नयन स्याङ्बो म्यान अफ द म्याच घोषित भए । आज हेटौंडा एकेडेमी विरुद्ध जिएस निकेतन, कमाने एकेडेमी विरुद्ध तुल्सी मेहर मेमोरियल विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विरद्ध ज्ञानोदय बालबाटिकाबिच खेल हुने प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिए ।
मकवानपुरको १३ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ ।







