बागमती प्रदेशमा लम्पी स्किनको खोप अभियान सञ्चालन गर्ने

हेटौँडा, लम्पी स्किन रोगबाट हुने क्षति कम गर्न बागमती प्रदेश सरकारले प्रदेशव्यापी रूपमा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही भाद्र १ गतेदेखि ७ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा वरिष्ठ पशु विकास अधिकृत डा। राम प्रकाश प्रधानले यस वर्ष १ लाख २० हजार गाई–भैंसीमा खोप लगाउने लक्ष्य लिइएको जानकारी दिनुभयो। उहाँका अनुसार, लम्पी स्किन रोग लागेपछि गाई–भैंसीमा उच्च ज्वरो आउने, शरीरभर गिर्खा देखिने, खुट्टा र जोर्नी सुन्निने, हिँड्न गाह्रो हुने, थुनेलो देखिने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने जस्ता लक्षण देखा पर्छन्। गत आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ वटा पशुमा खोप लगाइएको थियो।

नेपालमा यो रोग पहिलोपटक वि।सं। २०७७ साल असारमा प्रमाणित भएको हो, र हालसम्म देशका ७७ वटै जिल्लामा फैलिसकेको छ। मन्त्रालयका अनुसार, लम्पी स्किनका कारण अहिलेसम्म करिब ७५ अर्ब ४८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ। कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप खोप अभियानको घोषणा गरिएको बताउनुभयो। मन्त्रालयका तथ्यांकअनुसार, यो वर्ष साउनदेखि भदौसम्मको अवधिमा मात्रै ७४ वटा पशुको मृत्यु भएको छ भने १ हजार ६३३ पशु प्रभावित भएका छन्। यी सबै तथ्यांक मकवानपुर, सिन्धुली, काभ्रे र चितवन जिल्लाका हुन्।

ADVERTISEMENT

यस वर्षको खोप अभियान अन्तर्गत ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोटमा १२ हजार, सिन्धुलीमा १२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार र मकवानपुरमा २५ हजार पशुमा खोप लगाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *