पढ्दै कमाउँदै जनप्रियका विद्यार्थी

सुजन ढकाल
हेटौंडा, हेटौंडा– १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा अध्ययनरत विद्यार्थी कक्षामा पढ्दै र खेतबारीमा अभ्यास गर्दै आम्दानी गरिरहेका छन् । जनप्रिय प्राविधिक विद्यालयमा कृषि तथा भेटेनरी अध्ययन गरीरहेका ३ सय जना ५० जना विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालय हाताभित्रै तरकारी खेती गरेका छन् ।

ADVERTISEMENT

च्याउ खेतिको लागि टनेल निर्माण गर्दै

कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीले विद्यालयकै हाताभित्र ६ वटा टनेलमा टमाटर, काउली, धनिया र च्याउ लगाएका छन् । वार्षिक रुपमा एक लाख रुपैयाँसम्म विद्यार्थीले आम्दानी गरिरहेको विद्यार्थी बताउँछन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तरकारी खेतीबाट पढाइमा निकै सहयोग पुगेको विद्यार्थी कृतिका बराल बताउँछिन् । ‘हामीले तरकारी खेतीबाट आम्दानी पनि गरिरहेका छौँ।’ विद्यार्थी नवीन श्रेष्ठले भने –‘खेतीले गर्दा पढाईमा सहयोग पुगेको छ ।’

‘गतवर्षबाट पढ्दै कमाउँदै कार्यक्रम शुरु भएको हो ।’ विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईले भने –‘बाली विज्ञान पढ्ने विद्यार्थीले २ वटा टनेलमा टमाटर खेती गरिरहेका छन् । एउटा टनेलमा क्याप्सीकम लगाइएको छ । अर्को टनेलमा लगाएको धनिया निस्कीने क्रममा छ । भेटनरी अध्ययन गर्ने विद्यार्थीले माछापोखरीमा माछाका भुरा हालेका छन् । एउटा पोल्ट्रीमा ५ सय ४० वटा कुखुराका चल्ला पालेका छन् ।’ ‘खेतीको लागि चाहिने खर्चको लगानी विद्यालयले गर्छ । यसवर्षबाट विऊ पुँजी बराबरको रकम विद्यार्थीबाट फिर्ता गर्नुपर्छ भनेका छौँ । गतवर्ष तरकारीबाट भएको आम्दानी विद्यार्थीलाई छोडेका थियौँ’–उनले भने ।

ADVERTISEMENT

विद्यालयमा ६ वटा टनेल रहेको छ । जसमा सामाजिक विकास मन्त्रालयबाट २ वटा टनेल, प्रधानमन्त्री कृषि परियोजनाबाट २ वटा र विद्यालयकै लगानीमा २ वटा टनेल निर्माण भएका छन् । ४ वटा टनेलमा विद्यार्थीले विभिन्न उत्पादन गरिरहेका छन् भने २ वटा टनेलको निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

विद्यार्थीलाई अध्ययनसँगै जिविकोपार्जनतर्फ उत्प्रेरित गर्न विद्यालयमै पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको विद्यालयको प्राविधिक शिक्षक भीमप्रसाद दहालले बताए । पढाईसँगसँगै सीपलाई कसरी विकास गर्न सकिन्छ र सीपलाई भोलिको दिनमा जीविकोपार्जनसँग कसरी ढाल्न सकिन्छ भन्ने उद्देश्यका साथ पढाईलाई त्यस सीपसँग जोडेको विद्यालयका प्रिन्सिपल चौलागाई बताउँछन् । जनप्रिय माध्यमिक विद्यालयमा १ हजार ८ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने प्राविधिक धारमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *