हेटौँडा, सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको विरोधमा निजी विद्यालय सञ्चालकहरूले सोमबार हेटौँडामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। प्याब्सन मकवानपुरको आयोजनामा भएको ¥याली मानसचोकस्थित प्याब्सन कार्यालयबाट सुरु भई संगमचोक, बुद्धचोक, सीमाचोक हुँदै बागमती प्रदेश सभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशीष श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सालमै बने पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले विगतदेखि नै निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको स्पष्ट पार्दै, विद्यालयहरूलाई लक्षित गरी दमनकारी प्रावधान ल्याउन लागिएको भन्दै आपत्ति जनाउनुभयो।
त्यस्तै, प्याब्सन बागमती प्रदेश उपाध्यक्ष इन्दिरा पन्त कार्कीले मेहनतका साथ स्थापित निजी विद्यालयमाथि राज्यको निगाह परेको भन्दै असन्तुष्टि जनाउनुभयो। गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका निजी विद्यालयलाई समाप्त गर्ने उद्देश्य सरकारले लिएको आरोप उहाँले लगाउनुभयो।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले पनि संस्थागत विद्यालयहरू राष्ट्रका लागि अपरिहार्य भएपनि राज्यले तिनको योगदानको अवमूल्यन गर्न खोजेको बताउनुभयो। उहाँले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनले निजी विद्यालयहरूलाई जबर्जस्ती बन्द गराउने उद्देश्य राखेको दाबी गर्नुभयो।






