जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने प्रदेश सरकारको निर्णय


हेटौँडा, बागमती प्रदेश सरकारले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको तत्काल पुनर्निर्माण गर्ने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आन्दोलनमा घाइते भएकाहरूलाई प्रदेश मातहतका अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।

ADVERTISEMENT

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भएकोप्रति दुःखसमेत व्यक्त गरिएको मन्त्री तामाङले बताए। उनका अनुसार आन्दोलनका कारण भएको क्षति पुनर्निर्माणका लागि अतिरिक्त खर्च आवश्यक भएकाले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने निर्णय पनि भएको छ।

‘सरकारले बजेट पुनरावलोकनमार्फत साना र परिणाम नदिने टुक्रे योजनाहरू कटौती गर्नेछ, र बजेटलाई पुनर्निर्माण तथा देखिने परिणाममुखी विकासका काममा केन्द्रित गरिनेछ,’ मन्त्री तामाङले भने। बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा चालु आर्थिक वर्षका लागि अस्थायी दरबन्दीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *